काठमाडौं– सुरुवाती दुई खेल गुमाएको पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गराएको छ ।
शुक्रबार भएको तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गर्दै पोखराले शानदार जित निकालेको हो । त्रिभुवन क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्यो ।
पोखराका ओपनर आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । गौसले एनपिएलकै पहिलो शतक प्रहार गरे । गौस १०४ र खरेल ६१ रनमा अविजित रहे ।
त्यसअघि कप्तान रोहितकुमार पौडेल र टम मूर्सले चौथो विकेटका लागि १०८ रनको शतकीय साझेदारी गर्दै लुम्बिनी लायन्सले १७० रन बनाएको थियो ।
त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर पोखरालाई १७१ रनको लक्ष्य दिएको थियो । लुम्बिनीका लागि कप्तान रोहितले ९५ रनको पारी खेले । शतकबाट मात्र ५ रन टाढा रहेका रोहितले ५९ बलमा १० चौका र ४ छक्का हिर्काए ।
टम मूर्सले ४५ रन जोडेको खेलमा सन्दीप जोरा १८ रनमा आउट भए । ओपनरद्धय आसुतोष घीरैया र उन्मक्त चन्द शून्य रनमै आउट भएपछि रोहित र मुर्स मिलेर पालीसम्हालेका थिए ।
बलिङमा पोखराका विपीन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिए ।
प्रतिक्रिया