काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा जोडिएका सबैभन्दा चर्चित अन्तर्राष्ट्रिय क्रिकेटर शिखर धवन आज नेपाल छाड्दै छन् । फ्रेन्चाइज टोली कर्णाली याक्सबाट चारवटा खेल खेलेका भारतीय ब्याट्सम्यान आज फर्किने तयारी हुन् ।
एनपीएलको पहिलो संस्करणमा धवन आउँदा उनको प्रदर्शनलाई लिएर उनको प्रदर्शनलाई हेर्न दर्शकहरु निकै उत्सुक बनेका थिए । तर, धवनले खेलमा भने सोचेजस्तो धमाकेदार प्रदर्शन गर्न सकेनन्
। धवन सहाभागि भएको कर्णाली याक्सको चार खेलमा टोलीले दुई खेलमा मात्र जित निकाल्न सफल भयो ।
एनपीएलमा कम्तीमा चार र बढीमा पाँच म्याच खेल्ने गरी सम्झौता गरेर आएका महंगा खेलाडी हुन् धवन । उनले एउटा खेल ३० हजार डलर लिने सम्झौता भएको थियो । सबै व्यवस्थापकीय खर्चहरु समेत जोड्दा दुई करोड रुपैयाँ जति खर्च हुने फ्रेन्चाइज टोलीका ओनरले जनाएका छन् ।
धवनले चार खेलमा कुल १३६ रन बनाए, जसमा एउटा अर्धसतक सामेल छ । धवनको औसत ४५.३३ र स्ट्राइक रेट १२२.५२ रह्यो ।
धवनले जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेलमा १४ बलमा १४ रन बनाएर आउट भएका थिए । दोस्रो खेलमा काठमाण्डु गुर्खाजविरुद्ध ५१ बलमा ७१ रन हान्दै राम्रो प्रदर्शन गरे । जसमा ५ छक्का र ४ चौका सामेल थिए । तरपनि दोस्रो खेलपनि कर्णालीले गुमाउन पुग्यो ।
चितवन राइनोजविरुद्धको तेस्रो खेलमा धवनले ४१ बलमा ४५ रन बनाए । उक्त खेल भने कर्णालीले जीत्दै एनपीएलमा पहिलो जित दर्ता गर्यो ।
चौंथो खेलमा धवन चलेनन्, उनले पाँच रन मात्र बनाएको उक्त खेल भने कर्णालीले जित्यो । पहिलो ब्याटिङ गर्दै कर्णालीले १३३ रनको कमजोर योगफल बनाएको थियो । शिखर धवनको ब्याटबाट पाँच रन मात्रै निस्कियो । तर, बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीलाई ७ रनको रोमाञ्चक जित दिलाए ।
यस म्याचसँगै एनपीएलको पहिलो संस्करणमा धवनको यात्रा समाप्त भएको हो । धवन आज साँझ पाँच बजेको फ्लाइटमा धवन भारत उड्नेछन् ।
धवनलाई ल्याउन भएको खर्च अनुसार उनको प्रदर्शन हुन नसकेको फ्रेन्चाइज स्विकार्छ । तर, अन्तर्राष्ट्रिय स्तरका ठूलो नाम रहेका धवनजस्तो खेलाडी एनपीएलमा आवद्ध हुनु नै उपलब्धि भएको फ्रेन्चाइजको भनाई छ ।
प्रतिक्रिया