कृष्णभीरमा ग्यास बुलेट दुर्घटनाः चालक र सहचालक खोज्न गोताखोर परिचालन


काठमाडौं– धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना हुँदा बेपत्ता भएका चालक र सहचालकको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ कृष्णभिरस्थित पृथ्वी लोकमार्गमा आइतबार बिहान दुर्घटनामा परेको ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोर टोली परिचालन गरिएको हो ।

आज बिहान एनएल–०२एल–३९०७ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटना हुँदा उनीहरू बेपत्ता भएका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको छ ।​

प्रहरीका अनुसार सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अश्विनकुमार गुरुङको कमान्डमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको छ ।