नुवाकोट– नुवाकोटमा आमासहित दुई नाबालक छोराहरू एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । किस्पाङ गाउँपालिका १ नुचेत, भाल्चेमा आइतबार रेशबहादुर घलेको घरभित्र कोठामा उनकी पत्नीसहित दुई छोराहरू झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
आमा २४ वर्षीया चन्दीमाया तामाङ, ६ वर्षीय छोरा रोशन घले र अर्का छोरा ३ वर्षीय रोमन घले झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय विदुर नुवाकोटवाट प्रहरी नायव उपरीक्षक तीलक भारतीको एउटा टोली र फिकुरी प्रहरीचौकीबाट प्रहरी अधिकृतको छुट्टै टोली घटनास्थल पुगेको थियो । प्रहरीले हालभने घटनाको अनुसन्धान सुरु गरेको छ ।
स्थानीयवासीहरुले शनिवार घले दम्पत्तीबीच घरायसी विवाद भएको प्रहरीलाई जानकारी दिएका छन् । विवाद हुँदा पति रेशवहादुरले पत्निलाई दुई थप्पड पनि हानेको सोधपुछबाट जानकारी आएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान रेशबहादुर बारीमा केराउ टिप्न गएका थिए । सोही समयमा उक्त घटना घटेको स्थानीयवासीले बताए । स्थानीयवासीका अनुसार मृतक महिलाले जेठानी प्रेममायालाई अर्को कोठाभित्र चुक्कुल लगाएर अर्को कोठामा आत्महत्या गरेकी हुन् । मृतक महिलाले आफू मर्न लागेको भनेर आफन्तलाई टेलिफोन गरेर समेत जानकारी दिएकी थिइन् । त्यसपछि हस्याङफस्याङ गर्दै आफन्तहरू पुग्दा तीनै जनाको ज्यान गइसकेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया