लगातार चौँथो जीत निकाल्नबाट चुक्यो सुदुरपश्चिम, चितवन राइनोज ३३ रनले विजयी


काठमाडौं– जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजले सुदुरपश्चिम रोयल्सलाई ३३ रनले हराएको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदुरपश्चिम रोयन्सलाई १८.२ ओभरमा आउट गर्दै चितवनले जीत आफ्नो नाममा गरेको हो ।

जस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । जवाफमा सुदुरपश्चिमले सबै विकेट गुमाउँदै १३१ रनमा समेटियो ।

हालसम्म चार चार खेल खेलेका चितवन र सुदूरपश्चिमले समान तीन जित र एकहार ब्यहोरेका छन् । आजको खेलमा सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जोडे । सैफ अली जैबले १८ रन जोडेको खेलमा स्कट कुगेलेइनले १६, ब्रान्डन म्याकमुलेनले १३, दिलप्रित बाजवा १२ र नरेन साउद १० रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भए ।

बलिङमा चितवनका रिजन ढकाल,निकोल लोफ्टी–इटन, कप्तान कुशल मल्ल,र अमरसिंह रौटेलाले २–२ विकेट लिए । शोहिल तनविर र रन्जित कुमारले एक विकेटको योगदान दिए ।

यस्तै चितवनका लागि हसन एइसाखिलले सर्वाधिक ६५ रन जोड्दा रवि बोपाराले आक्रमक ब्याटिङ गरे । उनले १८ बलमा ३६ रन बनाए । कप्तान कुशल मल्लले १३ र बिपिन रावलले १७ रनको योगदान दिए ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एकएक विकेट लिएका थिए ।