मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवकको मृत्यु


काठमाडौं– मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बारामा एक जना युवकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–४ मा आफन्तको घरमा बस्न आएका युवकलाई मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

फुपाजुको घरमा आएका भारत मोतीहारी दरपा थाना नरकटिया गाउँ बस्ने १७ वर्षीय सहिल साहको आइतबार राति मृत्यु भएको हो । उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता मोरङको सुनवर्षी नगरपालिका(४ चैत्ता बस्ने ३५ वर्षीया रेखा देवी सिंहको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरको माथि टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।