काठमाडौं– प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अमानवीय व्यवहार गर्दै मानव अधिकार हनन गरेको बारेमा सोधपुछ गर्न उनलाई सोमबार आयोगले बोलाएको हो ।
मङ्सिर २० मा मध्यराति १२ बजे प्रहरीले लामिछानेलाई चितवनबाट पोखरा लगेको थियो । सोपछि रास्वपाले २ कात्तिकमा रवि पक्राउ परेयता नै प्रहरीले विभिन्न किसिमले मानसिक यातना दिने काम गर्दै आएको भन्दै आयोजमा उजुरी दिएको थियो । राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराएको थियो ।
त्यसअघि शुक्रबार रविकी पत्नि निकिता पौडेलले पनि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराएकी थिइन् । लामिछानेको व्यक्तिगत डायरीको गैरकानुनीरूपमा कब्जा गरी गोपनीयताको अधिकारको उल्लङ्घन गरेको, गैरकानुनी हिरासतमा राखिएको, कानुनी परामर्शको उचित अवसर नदिइएको, मानवीय सम्मान वा आत्म सम्मानमा चोट पुर्याउने प्रयास भइरहेको भन्दै उजुरी दर्ता गरेकी हुन् ।
प्रतिक्रिया