बयानका लागि दुर्गा प्रसाईँलाई सीआईबीमा लगियो, विश्नोईको नाममा धम्क्याउन ५ लाख दिएको खुलासा


नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा लगिएको छ ।

सोमबार सीआईबीले आपराधिक लाभ (एक्सटर्शन)को कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई लाजिम्पाटस्थित आफ्नो कार्यालयमा लगेको हो । उनलाई अब सीआईबीको महाराजगञ्जस्थित हिरासतमा राखेर अनुसन्धान अघि बढाइने छ ।

प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए ।

साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि प्रसाईंलाई सीआईबी लगिएको हो ।

भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा अब प्रसाईंमाथि अनुसन्धान हुनेछ । यही प्रकरणमा यसअघि सीआईबीको टोलीले १४ मंसिरमा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ती युवामाथि अनुसन्धान गर्दा प्रसाईंसँग सयपटकभन्दा बढी कुराकानी भएपछि उनीहरु बीच कनेक्सन रहेको खुलेको थियो ।