रोहित र जफरको अर्धसतकमा चितवन राइनोजलाई १६८ रनको लक्ष्य


काठमाडौं– कप्तान रोहित कुमार पौडेल र साद विन जफरले पाँचौ विकेटका लागि शतकिय साझेदारी गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई रनको १६८ चुनौती पेश गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेपछि चितवनका कप्तान कुशल मल्लले लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका थिए । ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन जोड्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८२ रन जोडे । ५६ बलको सामना गरेका रोहितले १९.३ ओभरमा रिजन ढकालको बलमा आउट हुनुअघि ५ छक्का र ६ चौका हिर्काए ।

लुम्बिनीका लागि साद विन जफरले ३५ बलमा ५१ रनको अर्धशतकीय पारि खेले । रोहित र सादवीनले पाँचौ विकेटका लागि शतकीय साझेदारी गरे । ४९ रनमा ४ विकेट गुमेपछि उनले साद बिन जफरसँग मिलेर ११४ रनको साझेदारी गरेका थिए । रोहितले ८० रन बनाए भने जफरले ५१ रन बनाए ।

यसअघि चौथो विकेटका लागि पनि लुम्बिनकै खेलाडीले शतकिय साझेदारी गरेका थिए । कप्तान रोहित र टम मुसर्सले चौथो विकेटका लागि पोखरा एभेन्जर्स विरुद्ध ११० रनको साझेदारी गरेका थिए । यसैगरी एनपीएलमा दुई शतकिय साझेदारी गर्ने पनि लुम्बिनी पहिलो टिम बनेको छ ।

बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक ३ तथा रञ्जित कुमार र कुशल मल्लले समान एक विकेट लिए । लगातार चार खेलमा पराजित भएको लुम्बिनी आज पहिलो जितको खोजिमा छ । चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ ।

चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो । यस्तै लुम्बिनी लायन्स चारवटै खेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ ।