चालक निदाउँदा स्कार्पियो दुर्घटना, गढीमाई मेलाबाट फर्किएका एउटै गाउँका आठ जनाको मृत्यु


जनकपुर– गढ़ीमाई मेलाबाट सिरहा फर्किरहेको स्कार्पियो रौतहटमा दुर्घटनामा परेको छ । चन्द्रनिगाहपुर नगरपालिका– ४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक राति १ बजेतिर बा १६ च ३१६२ नम्बरको स्कार्पियो दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा गाडीमा सवार ८ जनाको मृत्यु भएको छ भने बालबालिकासहित ४ जना घाइते छन् । दुर्घटनामा मृत्यु हुनेहरूमा सिरहाको अर्नमा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका–५ बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादव रहेका छन् ।

दुर्घटनामा अर्नमा–३ की ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र अर्नमा–३ कै ६० वर्षीया कन्यादेवी महरा घाइते भएका छन् । मृतकको शव अहिले चन्द्रनिगाहपुरकै सिभिल हस्पिटलमा राखिएको र घाइतेको उपचार पनि त्यही भइरहेको छ ।

गाडी रुखमा ठोक्किएर दुर्घटना भएको देखिएको छ । दुर्घटना स्थलको अवस्था हेर्दा चालक निदाएपछि गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।