काठमाडौं– कप्तान रोहित कुमार पौडेलको अलराउन्डर प्रदर्शनीमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको नेपाल प्रिमियर लिगको पहिलो खेलमा चितवन राइनोजलाई ३३ रनले हराउँदै जीत निकालेको हो ।
एनपीएलमा पाँच खेल खेलिसकेको लुम्बिनीको यो जीत पहिलो जीत हो । जीतका लागि १६८ रनको लक्ष्य पाएको चितवनको चार खेलाडीलाई रोहितले आउट गराएपछि निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो ।
चितवनका लागि लुक बेन्केनसटाइनले सर्वाधिक ३१ रन बनाउनबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान कुशल मल्ल २०, रवि बोपारा १२ र सन्तोष कार्की १० रन बनाएर आउट भए ।
नरबहादुर शार्कीले १२ बल खेल्दै अविजित २२ रन बनाउँदा रिजन ढकालले १४ बलमा अविजित १५ रन बनाए ।
यता लुम्बिनीका लागि रोहितले ४ ओभरमा १७ रन मात्र खर्चेर ४ विकेट लिए । उनले विपिन राउल, सोहेल तनविर, रवि बोपारा र जान निकोल लफ्टी इटनलाई आउट गरे । यस्तै रामोन सिमोण्ड्सले ३ ओभरमा १५ रन खरेचेर २ विकेट लिँदा साद विन जफर र अभिशेष गौतमले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन जोडेको थियो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८२ रन जोडे । ५६ बलको सामना गरेका रोहितले ५ छक्का र ६ चौका हिर्काए । रोहित जारी एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् । उनले अहिलेसम्म पाँच खेलमा २६३ रन बनाएका छन् ।
यस्तै लुुम्बिनीका लागि साद विन जफरले ३५ बलमा ५१ रनको अर्धशतकीय पारि खेले । बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक ३ तथा रञ्जित कुमार र कुशल मल्लले समान एक विकेट लिए ।
प्रतिक्रिया