पाँचौँ खेलमा जनकपुर बोल्ट्सको लज्जास्पद हार, हर्मित सिंहको उत्कृष्ट बलिङमा सुदुरपश्चिमको चौँथो जीत


काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथी सानदार जीत निकालेको छ ।

चार खेलमा लगातार जीत निकालेको जनकपुरलाई १२ ओभरमा नै अलआउट गर्दै ७२ रनको सानदार जीत निकालेको हो । १२.१ ओभरमा जनकपुरले सबै विकेट गुमाएर ५१ रन मात्र बनाउन सक्यो ।

जनकपुरका लागि जोसुआ ट्रोम्पले सर्वाधिक १३ रनको योगदान दिए । उनीबाहेक जनकपुरका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सात बलको सामना गरेका अनिल शाह शुन्य रनमा आउट हुँदा आशिफ शेखले पाँच बलमा चार रन बनाए ।

सुदुपश्चिमका लागि हर्मित सिंहले चार ओभरमा दुई रन खर्चेर दुई विकेट लिए । कप्तान दिपेन्द्रसिंह ऐरीले तीन ओभरमा २७ रन खर्चेर दुई विकेट आफ्नो नाममा गरे । इशान पाण्डेले दुई, सैफ अलि जैव, नरेन साउद र स्कट कुगेलेइनले समान एक विकेट लिए ।

यसअघि त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रनको सामान्य लक्ष्य दिएको थियो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन जोडे । सैफ अली जैबले २१ र इशान पाण्डेले १७ रन थपे । तीन बलको सामना गरेका कप्तान दीपेन्द्रसिंह ऐरीआज पनि शून्य रनमै आउट भए । ब्रान्डन म्याकमुलेन ११ तथा स्कट कुगेलेइन ७ रनमा आउट भए ।

बलिङतर्फ जनकपुरका किशोर महतोले ४ ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिए । शेर मल्ल र अरनिको यादवले २ तथा हर्ष ठाकरले एक विकेट आफ्नो नाममा गरे ।

यो खेलसँगै जनकपुर र सुदूरपश्चिमले पाँच खेलमा समान चार जीत निकालेका छन् ।