वैशाख, जेठको गर्मीमा पनि क्रिकेट खेल्न दौडिहाल्थे दीपेन्द्र


काठमाडौं– सुदुरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीकी आमाले सानैदेखि नै दीपेन्द्र क्रिकेट खेल्न दौडिहाल्ने गरेको बताएकी छिन् । आइतबार चितवन राइनोजसँग भएको सुदुरपश्चिम खेल हेर्न कीर्तिपुरपस्थित रंगशालामा पुगेकी दीपेन्द्रकी आमाले सुदुरपश्चिमकी होस्टसँग यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘वैशाख, जेठको गर्मीमा पनि दिउँसो १ बजेतिर हामी सुतिरहेका हुन्थ्यौँ । उ भने खेल्न दौडिहाल्थ्यो ।’ आफूले चिन्ता लियो भनेपनि म क्रिकेटबाट नै केही गर्छु भनेर आफूहरुलाई आस्वस्थ पार्ने गरेको उनले बताइन् ।

दीपेन्द्रले भनेजस्तै क्रिकेटमा राम्रो गरिरहेको उनले बताइन् । दीपेन्द्रको प्रदर्शनबाट आफू पनि खुसी रहेको उनले होस्टसँग कुराकानी गर्दै बताएकी हुन् । तर खेल मैदानमा आफूहरुले बाहिरबाट देखेको जस्तो सजिलो नहुने बताइन् । उनले भनिन्, ‘कस्तो बलिङ, कस्तो ब्याटिङ गर्नुपर्छ थाहा हुँदैन । हामीले देख्दा मात्र सजिलो छ जस्तो लाग्छ ।’

उनले दीपेन्द्रले खेल जीवनमा गरिरहेको प्रगतीप्रति गर्व गर्दै भनिन्, ‘मेरो छोरो ज्ञानी पनि छ ।’ उनले एक्लो प्रयासले क्रिकेट राम्रो नहुँदै सबैलाई साथ दिनका लागि पनि आग्रह गरिन् ।

जारी नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा सुदुरपश्चिम रोयल्सको कप्तानी गरिरहेका दीपेन्द्रसिंह ऐरी नेपाली राष्ट्रिय टोलीका अलराउण्डर हुन् । कञ्चनपुरको भिमदत्त नगरपालिकाका उनी आईसीसीको वरियतामा टि–२० खेलको उत्कृष्ट अलराउण्डर खेलाडीको वरियतामा दोस्रो नम्बरमा छन् । दीपेन्द्रको कप्तानीमा सुदुरपश्चिमले पाँच खेलमध्ये चार खेलमा जीत समेत निकालेको छ ।