काठमाडौं– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ७ वर्ष कैद सयाजको माग दाबी गर्दै प्रसाईँविरुद्ध मुद्दा दायर गरेको हो ।
नेपाल प्रहरीको साईबर व्यूरोको रायसहितको प्रतिवेदनको आधारमा उनीविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो । प्रसाईँ अहिले पनि प्रहरी हिरासतमा छन् । कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भनी फेक भिडियो बनाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा अनुसन्धान थालेको थियो ।
अनुसन्धान चलिरहेका बेला भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा व्यवसायीलाई धम्क्याउँदै असुली गरेको प्रकरण पनि सीआईबीसम्म पुगेको थियो । उक्त घटनामा धम्याउने व्यक्तिसँग प्रसाईँको बारम्बार सम्पर्क भइरहेकाले उक्त प्रकरणमा पनि सिआईबीले अनुसन्धान गरिरहेको छ ।
यसअघि पनि साइबर क्राइममा पक्राउ परेका प्रसाईँ एक लाख धरौटीमा रिहा भएका थिए । प्रसाईँले निरन्तर रुपमा दलका शीर्ष नेताहरुविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिँदै आएका थिए ।
प्रतिक्रिया