जाजरकोट– जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
ग३च ९८४५ नम्बरको जीप गएराति दुर्घटना हुँदा अन्य दुई जना घाइतेसमेत भएका छन् । नलगाड नगरपालिका–५ कालिमाटीबाट करुवा जाँदै गरेको उक्त जीप सडकबाट करिब सात सय मिटर तल खोलामा खसेको थियो । प्रहरीका अनुसार गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हो ।
जीपमा चालक सहित सवार सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरी थप उपचारका नगर अस्पताल दल्ली पुर्याइएको थियो । अस्पतालमा पाँच जनालाई डाक्टरले मृत घोषणा गरेका थिए ।
मृत्यु हुनेमा नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी ३१ वर्षीय चालक इन्द्रजित थापा, सोही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोरा आलोचन रोका रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
घाइते रहेका २१ वर्षीय जीवन विकको डिस्चार्ज भइसकेको र अर्का घाइते १९ वर्षीय जनक थापाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया