काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुपर ओभरमा विराटनगर किंग्सलाई हराउँदै पोखरा एभेन्जर्सले रोमाञ्चक जीत निकालेको हो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराले जीतका लागि विराटनगरलाई १९ रनको लक्ष्य दिएको थियो । पोखराका रेमोन रइफरले सन्दीप लामिछानेको बलिङको सामना गर्दै ५ बलमा दुई छक्का र एक चौकाको सहायतामा १७ रन बनाए । यस्तै आन्द्रेस गौसले एक रन जोडेका थिए ।
जवाफमा विराटनगरले एक विकेट गुमाएर ५ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
विराटनगरका लागि लागि स्टक एडवार्डले ४५ रन बनाए । यस्तै लोकेश बमले २६, निकोलस किर्तनले १९ रन बनाए । यस्तै बसिर अहमदले २१ रन बनाए ।
पोखराका सागर ढकाल र रेमोन रेइफरले २–२ विकेट लिए । यस्तै कुशल भुर्तेल र दिनेश खरेलले १–१ विकेट लिए ।
जवाफमा पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३९ रन जोडे । कप्तान कुशल भुर्तेलले ३४ बलमा ३१ रन जोडे । ओपनर दिनेश खरेल ११ बलमा ११ रन बनाए ।
विराटनगरका लागि प्रतिस जिशीले ३ तथा क्रिस सोलले २ विकेट लिए । कप्तान सन्दीप लामिछाने ४ ओभरमा २१ रन खर्चिएर विकेट विहिन रहे ।
यो खेलसँगै विराटनगर किंग्सको प्लेअफमा पुग्ने सम्भावना सक्किएको छ । यसअघि बुधबार लुम्बिनी लायन्स आफ्नो एक खेल अगावै प्लेअफमा नपुग्ने निश्चित भइसकेको छ ।
प्रतिक्रिया