काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । बिहीबार कीर्तिपुरस्थित क्रिकेट रंगशालामा भएको खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पाखा लगाउँदै जनकपुर अर्को चरणमा पुगेको हो । एक खेल अगावै अर्को चरणमा पुग्ने पहिलो टिम जनकपुर बनेको छ ।
काठमाडौंले दिएको १०२ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा १०४ रन जोड्दै लक्ष्य पूरा गर्यो । जनकपुरका लागि हर्ष ठाकरले अविजित २५ रन जोडे । जिमी नीशम १८ रनमा आउट हुँदा लाहिरु मिलान्थाले १६ तथा कप्तान अनिल साहले ११ रन जोडे ।
यसअघि टस जितेर सुरुआतमा ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १०१ रनमा अलआउट भएको थियो । काठमाडौंका लागि जेरार्ड एरास्मसले सर्वाधिक २० रन जोडे । स्टेफेन इस्किनाजी १७ रन, कप्तान करण केसी १६ रनमा आउट भए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ जनकपुरका ललित राजवंशी र शेर मल्लले समान ३ तथा मोहमद मोहसिन, अरनिको यादव र किशोर महतोले समान १ विकेट लिए ।
यस खेलसँगै काठमाडौं गुर्खाजले पाँचौँ खेलमा तीन हार व्यहोरेको छ ।
प्रतिक्रिया