काठमाडौं– नेपाल प्रिमियर लिगको शुक्रबार भएको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्दा कर्णालीले खेल आफ्नो नाममा गरेको हो ।
लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । सन्दीप जोरा २ छक्कासहित २४ रन बनाउँदै आउट भए ।
यस्तै अशुतोष घिरैया १६, अर्जुन साउदले १३, कप्तान रोहित पौडेल १ र साद बिन जाफर १६ रनमा आउट भए ।
कर्णालीका लागि जिसान मक्सुदले २ विकेट लिए । सोमपाल कामी, विपिन शर्मा र विलियम बोसिस्टोको नाममा भने १–१ विकेट रह्यो ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । टोलीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रनको योगदान दिए । अर्जुन घर्तीले २५ तथा बाबर हायातले २० रन जोडे ।
लुम्बिनी लायन्सका लागि विकास अग्रीले ३ विकेट हात पारे । तिलक भण्डारीले २ विकेट लिँदा साद बिन जाफर, रोहित पौडेल र रेमन सिमन्ड्सले पनि १ विकेट लिए ।
यो सँगै कर्णालीले प्लेअफको सम्भावना बलियो बनाएको छ । सात खेल खेलिसकेको लुम्बिनी लायन्सको भने यसअघि नै प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ ।
प्रतिक्रिया