प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य


काठमाडौं– नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सबाट ११८ रनको सामान्य लक्ष्य पाएको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९.५ ओभरमा ११७ रनमा अलआउट भयो ।

उसका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । दिपक बोहराले २० रन थपेको खेलमा स्कट एडवार्ड्सले १५, वसिर अहमदले १३ तथा लोकेश बमले ८ रन जोडे ।

बलिङमा काठमाडौंका जेरार्ड एरास्मसले ३ तथा करण केसी र दीपेश कँडेलले समान २ विकेट लिए । विराटनगर प्लेअफ होडबाट बाहिरिसकेको छ, भने काठमाडौंलाई प्लेअफ सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।