काठमाडौं– नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले चौथो जित निकालेको छ । आज भएको खेलमा गुर्खाजले विराटनगर किंग्सविरुद्ध १ विकेटको झिनो जित निकालेको हो । विराटनगरले दिएको ११८ रनको सामान्य लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन जोडे । ३४ बलको सामना गरेका उनले समान २ छक्का र चौका हिर्काए । शंकर रानाले नटआउट १६ रन जोड्दा दीपेश कँडेल पनि ११ रनमा अविजित रहे । रासिद् खानले १४ रन थपे ।
बलिङमा विराटनगरका सन्दीप लामिछानेले ३ तथा अनिल खरेल, वसिर अहमद र क्रिस सोलले समान २ विकेट लिए । त्यसअघि त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९.५ ओभरमा ११७ रनमा अलआउट भयो ।
उसका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । दिपक बोहराले २० रन थपेको खेलमा स्कट एडवार्ड्सले १५, वसिर अहमदले १३ तथा लोकेश बमले ८ रन जोडे ।
बलिङमा काठमाडौंका जेरार्ड एरास्मसले ३ तथा करण केसी र दीपेश कँडेलले समान २ विकेट लिए । यो खेलसँगै विराटनगर प्लेअफ होडबाट बाहिरिएको छ भने काठमाडौंलाई प्लेअफमा पुग्ने सम्भावना कायम नै रहेको छ ।
प्रतिक्रिया