काठमाडौंं– काठमाडौंमा बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेकी महिलाको ‘सुसाइड नोट’ फेला परेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमतीमा आत्मदाह गरेकी उनको नजिकै सुसाइड नोट फेला परेको हो । उक्त नोटमा आत्मदाह गर्नुको कारण कसैलाई दोष नलगाइएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो १२ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । सुसाइड नोटमा उनले आफ्नै कारणले आत्मदाह गरेको खुलाएकी छिन् । उनले नोटमा लेखेकी छिन्, ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ सुसाइड नोटमा उल्लेख गरिएको विषयबारे एक अनुसन्धान अधिकृतले भने ।
घटनास्थल नजिकै उनले कागमा सुसाइड नोट लेखर छाडेकी थिइन् । जसमा यो घटनाबारे आफ्ना श्रीमान्लाई समेत ‘जानकारी दिनू’ भन्दै मोबाइल नम्बरसमेत छाडेकी छिन् ।
आफ्नै शरीरमा आगो लगाउनसअघि उनले श्रीमानसँग च्याटमा कुराकानी भएको भेटिएको छ । च्याटमा पनि उनले श्रीमान्लाई कुनै दोष लगाएको नपाइएको प्रहरीको भनाई छ । मृत महिलाका १३ र ३ वर्षका दुई छोराहरू छन् ।
उनले बा ३५ प ५८१८ नम्बरको स्कुटर आएर बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि आगो लगाएकी थिइन् ।
आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरिय अस्पताल लगिएको थियो । उपचारकै क्रममा आइतबार बिहान ५ः४५ बजे उनको मृत्यु भएको थियो ।
प्रतिक्रिया