काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले आफूमाथी ‘मिडिया ट्रायल’ भएको आरोप लगाएकी छिन् । रविमाथी सहकारी ठगीका विषयमा अनुसन्धान भइरहँदा स्रोत नखुल्ने करोडौँ रकम भेट्टिएको भन्दै समाचार आएको प्रति खण्डन गरेकी हुन् ।
उनले आफ्नो बुबा उद्धव पौडेलसँग अनुसन्धानमा भएको विषयको ‘मिडिया ट्रायल’ को सन्दर्भमा भएको कुराकानीलाई सामाजिक सञ्जालमा लेख्दै यसको खण्डन गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘ आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति? अलिकति मलाई पनि देऊ न।’ मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दैछु।’
मिडिया अनुसार आफ्नो खातामा भएको रकमको बारेमा पनि फरक फरक लेखेको उनले बताएकी छिन् । उनी थप लेख्छिन्, ‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु समाचार लेख्नेमाथि दया लागेर आउँछ।’
समाचारमा अन्दाजको भरमा खातामा यति पैसा छ भनेर लेख्नुभन्दा सोधेको भए आफैले बताइदिने उनको भनाइ छ । उनले लेखेकी छिन्, ‘श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु। मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।’
प्रतिक्रिया