काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले अनुमति दिएको छ । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की अदालतले थप ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पछिल्लोपटक पाँच दिनका लागि अदालतले थपेको म्याद सोमबार सक्किएपछि मंगलबार रविलाई अदालतमा उपस्थित गराइएको थियो । जसमा प्रहरीले चार दिन हिरासतमै राख्न अनुमति मागेको थियो ।
रविसँगै उपस्थित गराइएका गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई पनि चार दिन हिरासतमा राख्न म्याद थप भएको छ ।
यस्तै सोमबार प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि प्रतिवेदन बुझाउँदै प्रहरीले लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।
सो प्रतिवेदनको विश्लेषण गरेर लामिछानेविरुद्ध पुस ५ गते जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने भएकाले पुस ५ गते उनीविरुद्ध अभियोग पत्र दायर गर्न लागिएको हो।
प्रतिक्रिया