जनकपुरका कप्तान अनिल शाहले एनपीएलको बाँकी खेल गुमाउँदै, आशिफ शेखले कप्तानी सम्हाल्ने


काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएलमा) जनकपुर बोल्ट्सलाई नकआउट चरणमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेका कप्तान अनिल साहले बाँकी खेल गुमाउने भएका छन् । उनको हातमा चोट लागेका कारण एनपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।

नेपाली राष्ट्रिय टिमका ओपनर समेत रहेका अनिलले शनिबार चितवन राइनोजसँगको खेल खेलेका थिए । उक्त खेलको आठ रनमै आउट भएका उनको हातमा चोट लागेको हो । अब उनको हातको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

अनिलले अब एनपीएलको बाँकी खेलको दौरान खेलमा सहभागी बन्न नसक्ने जनकपुरका प्रशिक्षक पुबुदु दशानायकेले बताएका हुन् ।

लिग चरणका दुई खेलमा पराजय बेहोरेको जनकपुर पाँच जितसहित १० अंक बनाएर नकआउट चरणमा पुगेको छ । जसअन्तर्गत बुधबार सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । कप्तान शाहको अनुपस्थितिमा अब बाँकी खेलमा जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने भएका छन् ।