काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजको यात्रा समाप्त भएको छ । इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा पुगेसँगै राइनोजको यात्रा समाप्त भएको हो ।
आज भएको खेलमा चितवन कर्णालीसँग २२ रनले पराजित भयो । कर्णालीले दिएको १७६ रनको चुनौती पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रनमात्र जोड्न सक्यो ।
चितवनका लागि रवि बोपाराले अर्धशतक हिर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । ३४ बलमा ३ चौका र ४ छक्काको मद्दतमा उनले ५३ रन जोडे ।
ओपनर विपिन रावल १८, लुक बेनकेन्सटाइन १६, कप्तान कुशल मल्ल २१, सन्तोष कार्की ८, सोहिल तानविर ४, अमर रौटेला ९ र रिजन ढकाल ७ रनमा आउट भए । शरद भेषवाकर १० रनमा अविजित रहे ।
रवि जारी एनपीएलमा सर्वाधिक रन जोड्ने ब्याटर बनेका छन् । यसअघि पहिलो नम्बरमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल थिए । रोहितलाई पन्छाउँदै बोपारा शीर्ष स्थानमा उक्लिएका हुन् । रोहितले २७९ रन जोडेका थिए भने दोस्रो स्थानमा रहेका बोपाराको २३३ रन थियो । आज थप ५३ रन जोडेका उनको कूल स्कोर २८६ पुगेको छ ।
बलिङमा कर्णालीका जिशन मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले र विपिन शर्माले एक विकेट लिए ।त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो ।
कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक पुरा गरे । जयकिशन ४३ र विलियम ५२ रनमा बनाएर आउट भए ।
दोस्रो क्वालिफायरमा पुगेको कर्णालीले आजै हुने सुदुरपश्चिम र जनकपुरबीचको खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि भिड्नेछ ।
प्रतिक्रिया