सिस्नेरी–दक्षिणकाली सडकमा पुस ११ गतेसम्म गाडी चलाउन नपाइने


काठमाडौं– हेटौँडाबाट काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

सो सडक अन्तर्गत दक्षिणकाली–छैमले खण्डमा कालोपत्र गर्न लागिएकाले आजदेखि पुस ११ गते सम्म सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ।

सो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ , त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।