फाइनलमा प्रवेशका लागि जनकपुरबाट सुदूरपश्चिमले पायो १४० रनको लक्ष्य


काठमाडौं– नेपाल प्रिमियर लिगको फाइनलमा पुग्न जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको सामान्य लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो ।

जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रन बनाए । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । शुभ कंशाकारले २६, लाहिरु मिलान्थाले १२, आसिफ शेखले ११, हर्ष थाकरले १२, अरनिको यादवले ११, शेर मल्लले ३ र मोहम्मद मोहसिनले १ रनको योगदान दिए । किशोर महत्तो २ र आकाश त्रिपाठी ४ रनमा अविजित रहे ।

सुदुरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट झारे। सैफ जैवले २ विकेट लिए। स्कट कुग्लेजिन र अविनास बोहोराले समान एक विकेट आफ्नो नाममा गरे।

यो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध खेल्नेछ।