बैंकका लागि दुर्गा प्रसाईंसँग एक अर्ब ऋण असुल्ने बाटो खुल्यो


मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकको ऋण असुल गर्ने प्रकृया रोक्न माग गर्दै दायर गरेको रिट खारेज भएको छ । उच्च अदालत विराटनगर, इलाम इजलासले प्रसाईंले दायर गरेको रिट खारेज गर्दै ऋण असुलीको प्रक्रिया अघि बढाउने बाटो खोलेको हो ।

न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर राईको संयुक्त इजलासले प्रसाईंको माग बमोजिम आदेश जारी गर्न अस्वीकार गर्दै मंगलबार रिट खारेज गरिदिएको हो । यससँगै कुमारी बैंकले राष्ट्र बैंकले निर्दिष्ट गरेको प्रक्रिया अनुसार ऋण असुली गर्न पाउने भएको छ ।

कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण तत्काल नतिरे असूलीको प्रक्रियामा जाने ताकेता पत्र पठाएको थियो । सोपछि प्रसाईं बैंकको उक्त पत्र कार्यान्वयन नगर्न÷नगराउन माग गर्दै उच्च अदालत विराटनगर पुगेका थिए । प्रसाईंले २०८० असार ८ गते टीकाराम अधिकारीमार्फत कुमारी बैंकको विर्तामोड शाखालगायत बैंकविरुद्ध रिट दायर गरेका थिए ।