पछिल्लो तीन दिन नेपालको पश्चिमी क्षेत्रमा लगातार भुकम्पको धक्का


काठमाडौं– पश्चिमी नेपालमा लगातार भुकम्प जान थालेको छ । पछिल्लो तीन दिनमा नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जान थालेको हो ।

यसैक्रममा आज बिहान बिहान ७ः३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार उक्त भुकम्प ४.७ म्याग्नेच्युडको गएको छ ।

भूकम्पको धक्का महसुस भएपनि त्यसले क्षति पुगेको भन्ने सूचना अहिलेसम्म पालिकाका कतैबाट नआएको ङिस्याङ गाउँपालिकाले जनाएको छ । यसअघि बुधबार बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

बझाङलाई नै केन्द्रबिन्दु बनाएर मंगलबार पनि दुई पटक भूकम्प गएको थियो। मंगलबार साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसअघि १ बजेर २ मिनेटमा बझाङकै रायल केन्द्र भएर ३.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

नेपालमा २०८० कात्तिक १७ गते जाजरकोट केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १५० जनाभन्दा बढीको ज्यान गएको थियो । यसैगरी २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर ७.६ म्याग्निच्युडको भूकम्प जाँदा ८ हजार ९७० जनाको ज्यान गएको थियो ।

भूकम्पीय क्षतिको दृष्टिले नेपाल उच्च जोखिमयुक्त मानिन्छ । पश्चिम नेपालको भूगर्भमा वर्षौंदेखि ऊर्जा सन्चित भएकाले अझै बढी जोखिम रहेको मानिन्छ । त्यसैले यहाँ भुकम्प प्रतिरोधि संरचना बनाएर नागरिकको ज्यानको सुरक्षामा समयमै ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् ।