रवि लामिछानेको तस्बिर आफूले नै खिचेको निकोलसले स्विकारे, भन्छन्, ‘गल्ति भयो’


काठमाडौं– कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर आफूले नै खिचेको डा. निकोलस भुसालले बताएका छन्। उनले प्रहरीकै सिसिटीभीबाट आफूले फोटो खिचेको स्विकार गरेका हुन् ।

उनले प्रहरीकै अगाडि रवि लामिछाने सुतिरहेको सिसिटिभीको फुटेज खिचेको बताएका हुन् । त्यती बेलामा प्रहरीले आफूलाई खिच्नबाट नरोकेको बताएका छन् । आफूले खिचेको तस्बीर भाइरल भएपनि फोटो खिच्नु गल्ति भएको स्विकार गरेका छन् ।

गत शनिबार निकोलस भुसाल रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुगेका थिए । तर, प्रहरीले रवि सुतिरहेको र अहिले भेट्न नमिल्ने बताएको थियो । भुसालले भेट्नै पर्ने ढिपी गरेपछि उनलाई सीसीटिभीबाट रवि सुतेको देखाइएको थियो । भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । उनले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए ।

उक्त तस्बिर आफूले फेसबुकमा पोष्ट गरेपछि रास्वपाको कार्यकर्ताले भाइरल बनाएको भुसालको भनाइ छ। साथै उनले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य नभएको उनले बताए।