वर्षा नरोकिएपछि नेपालले श्रीलंकासँग बाँड्यो अंक


काठमाडौं– मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षा कारण स्थगित भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा खेल सुरु भएको केही समयमा नै पानी परेपछि खेल रोकिएको थियो । तर खेल रोकिएको एक घण्टाभन्दा बढी समयसम्म पानी पर्न नरोकिएपछि खेल स्थगित भएको हो ।

नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । पहिलो ओभरमा नै कप्तान पूजा महतोले एक रनमात्र दिएर एक विकेट लिएकी थिइन् । तर पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु हुँदा खेल अघि बढ्न सकेन ।

एसिया कपको पहिलो नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउदैँ सुपर–४ मा प्रवेश गरेको थियो । यसैगरी, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अङ्क बाँडेका थिए ।

रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो।