काठमाडौं- जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा पुगेको छ ।
बिहीबार खेलिएको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको हो ।
जनकपुर बोल्ट्सले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ । फाइनल खेल शनिबार खेलिने छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सले १९ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
जनकपुरका लागि जिमी नीशमले १७ बल खेल्दै २ चौका र ५ छक्काको मदतमा सर्वाधिक ४५ रन बनाए । शेर मल्लले अविजित १६ रन जोडे । शेरले १० बल खेल्दा १ छक्का प्रहार गरे । हर्श थाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन जोडे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारि २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन जोडेको थियो । कर्णालीका लागि गुल्सन झाले २५ तथा देव खनालले २४ रन जोडे । विलियम बोसिस्टोले १४ रन थपेको खेलमा जिसन मक्सुद ११ तथा चाडविक वाल्टन र युनिसविक्रम सिंह ठकूरीले समान १२ रन जोडे ।
बलिङमा जनकपुरका ललित राजवंशी, जिमी नीशम र मोहमद मोहसिनले समान २ विकेट लिँदा हर्ष ठाकर र शेर मल्लको नाममा समान १ विकेट रह्यो ।
प्रतिक्रिया