सुर्खेत– चिसोबाट बच्न कोठामा कोइला बालेर सुत्दा वीरेन्द्रनगर–४ भैरवस्थानमा दुई जनाको मृत्यु भएको छ । कोइलाले निसास्सिएर एकै परिवारका तीन जनामध्ये आमा र छोराको निस्सासिएर मृत्यु भएको हो भने छोरी गम्भीर घाइते भएकी छन् ।
मृत्यु हुनेमा ३० वर्षीया देवीसरा थापा घर्ती र उनका ६ वर्षीय छोरा रियान घर्ती रहेका छन् । ९ वर्षीया छोरी रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतको उपचार कक्षमा उपचार भइरहेको छ।
बुधबार राति खाना खाएर सुतेका तीन जना बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फुटाउँदा उनीहरू अर्धचेत अवस्थामा फेला परेका थिए । सोपछि तत्कालै अस्पताल पुर्याउँदा आमा र छोरालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा कोठामा झ्याल बन्द भएका कारण कार्बनमोनोअक्साइड ग्यास भरिएर अक्सिजनको मात्रा घट्दा निस्सासिएर उनीहरूको मृत्यु भएको पुष्टि भएको छ ।
प्रतिक्रिया