एनपीएलमा कुन नेपाली खेलाडीले जित्लान् कार?


काठमाडौं– नेपाली इतिहासमा नै पहिलोपटक नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिग लगभग अन्त्यतिर आइपुगेको छ । शनिबार हुने फाइनल खेलबाट एनपीएलको पहिलो बिजेता छान्दै एनपीएल सकिँदैछ ।

यसका लागि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स कीर्तिपुरस्थित क्रिकेट मैदानमा उत्रँदैछन् । शनिबार यी दुई मध्ये कसले उपाधि हात पार्ला भनेर अनुमान लगाउने काम भइरहेको छ । दुई पटकको भेटमा जनकपुरलाई हराइसकेको सुदूरपश्चिमले नै उपाधि जित्छ भनिरहेका छन् भने कतिपयले तेस्रो भेटमा जनकपुरले बदला लिन्छ भनिरहेका छन् ।

जे होस्, एनपीएलमा विजेताले पाउने १ करोड १० लाख रुपैयाँ भने जनकपुर वा सुदुरपश्चिमको पोल्टोमा जाने पक्का छ ।

यता फाइनल खेल नजिकिँदै गर्दा कार पुरस्कार कुन खेलाडीले जित्लान् भनेर समेत अड्कलबाजी सुरु भएका छन् । किनभने क्यानले एनपीएल सुरु हुनु अघि नै शारदा ग्रुपसँग एनपीएकको ‘ड्रिभन बाई’को रुपमा ओमोडा एण्ड जेइको सँग सम्झौता गर्दै प्लेअर अफ दि सिरिज हुने नेपाली खेलाडीलाई कार पुरस्कार दिने घोषणा गरेको थियो ।

प्लेअर अफ द सिरिजका लागि हालसम्मको खेललाई हेर्दा चार खेलाडी कार पुरस्कारको लागि प्रमुख दाबेदार देखिएका छन् ।

नेपाली राष्ट्रिय टिम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल कार पुरस्कार पाउनसक्ने सम्भावना बोकेका खेलाडी हुन् । उनी हालसम्म एनपीएलमा सबैभन्दा रन बनाउने खेलाडी हुन् । तर उत्कृष्ट प्रदर्शनका बाबजुद उनको टोली एक खेलमा मात्र जित निकाल्दै बाहिरिएको थियो ।

उनले दुई अर्धशतक बनाउँदै सात खेलमा २७९ रन बनाएका छन् । यस्तै ६ खेलमा बलिङ गरेका उनले चार खेलमा विकेट निकाल्दै आफ्नो नाममा आठ विकेट बनाएका छन् ।

रोहितले पोखरा विरुद्ध सर्वाधिक ९५ रन बनाएका थिए । चितवन विरुद्ध ८० रन बनाउँदै ४ विकेट समेत लिएर प्लेअर अफ द म्याच बनेका थिए ।

यसैगरी विराटनगर विरुद्ध ४६, जनकपुर विरुदध ३५ रन बनाउँदा कर्णाली विरुदध १०, काठमान्डु विरुदध ८ र सुदूरपश्चिम विरुदध ८ रनमा आउट भएका थिए । ७ मध्ये ६ खेलमा बलिङ गरेका उनले ४ खेलमा विकेट लिएका थिए ।

कार पुरस्कार पाउनसक्ने अर्का दाबेदार हुन् सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी । आफ्नो प्रदर्शनले खेल जिताउनलाई मत्वपूर्ण भूमिका निभाउँदै टिमलाई फाइनलसम्म पुर्याएका कारण ऐरी एनपीएलमा छाएका छन् । दीपेन्द्रले ८ खेलमा १ अर्धशतक बनाएका छन् । उनले पहिलो खेलमै विराटनगर विरुद्ध अविजित ४७ रन बनाउँदै प्लेअर अफ दि म्याच बनेका थिए ।

त्यसपछि उनले टिमको अवस्था अनुसार ब्याटिङ पोजिसन चेन्ज गरेर ब्याटिङ गरे । काठमान्डु गुर्खखाज विरुद्ध ४३ रन बनाएका उनले लुम्बिनीविरुद्ध अविजित ४३ रन जोडे । चितवन विरुद्ध १ रनमा आउट भएका उनले जनकपुरविरुद्ध खाता खोल्न सकेनन् । पोखरा विरुद्ध २०, कर्णाली विरुद्ध ३८ रन बनाए । क्वालिफायर वान मा जनकपुर विरुद्ध २० रन बनाएका थिए । साथै उनले जनकपुरविरुद्ध ३ विकेट समेत लिए जुन उनको बेस्ट बलिङ फिगर समेत हो । दीपेन्द्रले हालसम्म २१८ रन बनाउँदै बलिङमा कुल ८ विकेट लिएका छन् ।

कार पुरस्कार पाउनसक्ने अर्का दाबेदार खेलाडी हुन् जनकपुर बोल्ट्सका ललित राजवंशी । उनले हालसम्म १६ विकेट लिएर सबैभन्दा धेरै विकेट लिने नेपाली खेलाडीमा आफूलाई उम्भाएका छन् । ललितले विपक्षीलाई कम स्कोरमा रोक्दै जनकपुरलाई जित दिलाउन मूख्य भुमिका रहेका छन् ।

स्पीनमा ललित र मिडियम पेसमा किशोर महतोले उत्कृष्ट प्रदर्शन गर्दै जनकपुरलाई सुरूवाती चार खेलमा लगातार जिताउन सहयोग गरे । ललितले नौ खेलमा एक खेलबाहेक सबैमा विकेट लिएका छन् ।
उनले लिगमा विराटनगर, पोखरा र काठमान्डु विरुदध ३–३ विकेट लिँदा चितवनसँग र क्वालिफायर टु मा कर्णालीसँग समान २ विकेट लिए । यस्तै लिगमा कर्णाली र लुम्बिनी सहित क्वालिफायर वानमा सुदूरविरुद्ध समान १ विकेट लिएका थिए । काठमान्डु विरुदध ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चेर ३ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो ।

यस बाहेक एलमिनेटरबाट बाहिरिएका कुशल मल्ल नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउनेमा दोस्रोमा छन् । उनले उक अर्धशकका साथ २२३ रन बनाएका छन् । यस्तै उनले ९ विकेटको योगदान आफ्नो टिमको लागि गरेका छन् ।