काठमाडौं– सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा पठाउनुको कारण मागेको छ ।
झालाई थुनामा पठाउनुको कारण पेश गर्न सर्वोच्चले उच्च अदालत पाटनलाई आदेश दिएको छ ।
यसअघि धरौटीमा रिहा हुनुपर्नेमा आफूलाई थुनामा राखिएको र सो कार्य गलत भएको भन्दै झाले उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए । निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि शुक्रबार न्यायाधीश कुमार रेग्मीको इजलासले उच्च अदालत पाटनबाट ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश गरेको हो ।
कुनै आरोपितलाई थुनामा राख्न, धरौटीमा छाड्न वा सामान्य तारिखमा रिहा गर्न दिएको आदेशको आधार र कारण खुलाएर तयार पारेको प्रतिवेदनलाई कैफियत प्रतिवेदन भनिन्छ ।
अब सर्वोच्च अदालतको संयुक्त इजलासले कैफियत प्रतिवेदनका आधारमा झालाई थुनामा पठाउने आदेशको परिक्षण गर्नेछ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा झा गत असारमा पक्राउ परेका थिए ।
ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएका झाले आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै आफूलाई केही जानकारी नभएको बयान दिँदै आएका थिए । यद्दपी उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले गत भदौमा पुर्पक्षका लागि कारागार चलाननको आदेश दिएको थियो। सोपछि झालाई केन्द्रीय कारागार सुन्धारामा थुनामा राखिएको छ ।
प्रतिक्रिया