दुर्गा प्रसाईँलाई सर्वोच्चमा उपस्थित गराइयो


काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि आज उनलाई सर्वोच्चमा हाजिर गराइएको हो ।

प्रसाईँले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।

यसअघि पनि उनले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए । तर उक्त निवेदन खारेज भएको थियो । सर्वोच्चले आज उनलाई थुनामा राखेर भइरहेको अनुसन्धान कानुनसम्मत देखेमा रिट खारेज गर्ने छ भने गैरकानुनी देखेमा साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश गर्नेछ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईँमाथी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत भ्रम फैलाएको आरोप छ । प्रहरीले उक्त अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने उनीमाथि सार्वजनिक अपराध र किर्तेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।