काठमाडौं– आज भएको तेस्रो तथा अन्तिम खेलमा हङकङको यू–१९ टिम १३० रनले पराजित भयो । नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३५ रनमात्र जोड्न सक्यो । उसका लागि प्रित म्यानगुकियाले अर्धशतकीय पाली खेले । नटआउट रहँदै ८७ बलको सामना गरेर ५५ रन जोडेका उनले ७ चौका हिर्काए ।
त्यस्तै अब्दुर सामदले २३ र कप्तान शिव माथुरले १८ रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका अभिषेक तिवारी र अफ्रूदिन रैनले समान २ विकेट लिए । राजेश बोहरा, दीपक सेरला, र सन्तोष यादवको नाममा समान एक विकेट रह्यो । यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २६५ रन जोडेको थियो ।
नेपालका लागि तीन जनाले अर्धशतकीय पारी खेले । सूर्यांशु कोइरालाले सर्वाधिक ६३ रन जोड्दा सन्तोष यादवले ५३ र अभिषेक तिवारीले ५६ रन जोडे । ९६ बलको सामाना गरेका सूर्यांशुले ८ चौका र १ छक्का हिर्काउँदा ४१ बलमा तिवारीले ४ चौका र २ छक्का हिर्काए । ४५ बलमा सन्तोषले पनि ५ चौका र १ छक्का हिर्काएका थिए ।
नरेन भट्टले ३६ रन जोडेको खेलमा सोहिल कुँवरले १३ तथा राजेश बोहराले ११ र निरज यादवले ७ रन थपे । २१ रन नेपालले अतिरिक्त पायो । बलिङमा हङकङ्गका डेनियल म्याप, पार्थ श्रीवास्तव, सयन पुरी र प्रित मान्गुकियाले समान २ विकेट लिए ।
लगातार दुई खेलमा जित निकाल्दै नेपालले ३ खेलको एक दिवसीय यू–१९ सिरिज आफ्नो पक्षमा पारिसकेको थियो । पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया