एनपीएलको फाइनलअघि के भन्छन् जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सका कप्तान ?


काठमाडौं– राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागिभोलि दुई दावेदार टिम जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा यी दुई टिमको फाइनल भिडन्त दिउँसो १२ बजेबाट हुनेछ ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम फाइनलमा पुग्दा दुई खेलमात्र हारेको जनकपुर दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पन्छाउँदै फाइनलमा पुगेको हो । उपाधि दावेदारका रुपमा हेरिएका दुवै टिम फाइनलमा पुगेको हुँदा भोलिको फाइनल म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ । यसैबीच फाइनल खेलअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुर कमजोर टिम नभएको बताएका छन् ।

त्रिवि मैदानमा आयोजित प्रेस मिटमा बोल्दै ऐरीले जनकपुरलाई कमजोर टिमको रुपमा नहेरेको बताए । ‘जनकपुर पनि बलियो टिम हो । हामीले कमजोर सोचेका छैनौं । हामी हाम्रो टिमबाट सक्दो खेल्नेछौं । राम्रो हुने आसा गरेका छौं’ उनले भने ।

यता जनकपुरका कप्तानको भूमिकामा रहेका आशिफ शेखले सुदूरसँग बदलाको भावना लिएर मैदानमा नउत्रिने बताए । ‘रिभेन्जको भावनाले मैदानमा उत्रिँदैनौं । क्वालिटीको क्रिकेट खेल्न चाहान्छौं । रिजल्टको बारेमा केही पनि सोचेका छैनौं । ग्राउन्डबाट निक्लिनेबेला यति फिल होस् हामी सबैले राम्रो खेल्यौं ।

समूह चरण र पहिलो क्वालिफायर खेलमा जनकपुर सुदूरपश्चिमसँग पराजित भएको थियो । यसबारेमा कप्तान शेखले ब्याटिङमा नै आफ्नो टिम चुकेको बताए । ‘दुईवटै खेलमा हाम्रो ब्याटिङ राम्रो भएन । पहिलो म्याचमा कम स्कोर भएपनि हामी टिकेर खेल्न सकेनौं । दोस्रो म्याचमा होइ स्कोरिङ थियो । सोचेअनुरुप भएन’ उनले भने ।