काठमाडौंकै ‘हाकिम’ को छानबिन गर्दै बालेन


काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छानबिन गर्ने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रक्रिया पूरा नगरी पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पास गरेको भन्दै उनीमाथि छानबिन गर्ने महानगरले शुक्रबार साँझ पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो ।

महानगरले आइतबार छानबिन समिति बनाएर उनीमाथि छानबिन सुरु गर्ने तयारी रहेको जानकारी दिएको छ ।

भएको के हो?

महानगरको वडा नम्बर २८ पुरानो बसपार्कमा महानगरपालिकाको नाममा टावर निर्माण गर्ने २०७१ फागुनमा कार्यपालिका वैठकले निर्णय गरेको थियो । सोपछि ०७१ सालकै फागुन २० मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र महानगरबिच दुई पक्षीय सम्झौता भएको थियो ।

सम्झौतामा निर्माणको अवधि पाँच वर्ष सहित जम्मा ३० वर्षको लागि डिजाइन निर्माण सञ्चालन र हस्तान्तरणको ढाँचामा दुई पक्षिय सम्झौता भएको महानगरले जनाएको छ । तर महानगरले टावर निर्माण गर्न दिएको स्विकृतिभन्दा विपरित टावर निर्माणका लागि कम्पनीले नक्सा पेश गरेको थियो । महानगरले मापदण्ड विपरित ल्याएको नक्सालाई अस्विकृत गरिएको जनाएको छ ।

उक्त नक्सा हालसम्म आधिकारिक नक्सा पास प्रणलीमा विभागीय प्रमुखको डेक्समै रहेको र प्रकृया नपुगेकाले स्विकृति नपाएको महानगरले जनाएको छ । तर भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएको महानगरको दाबी छ । यसको काम जो सुकैबाट भएपनि नछाड्ने भन्दै अनुसन्धान गर्न लागिएको महानगरका प्रवक्ता नवीन मानन्धरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।