काठमाडौं– खोलामा टिकटक बनाउन खोज्दा तेह्रथुममा शिक्षक र विद्याथीको मृत्यु भएको छ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भटराईको मृत्यु भएको हो ।
शनिबार विद्यार्थीसहित शिक्षिका खोरुङ्गा खोलामा नुहाउन गएकी थिइन् । नुहाउने क्रममा शिक्षिकासहित दुईजना विद्यार्थी खोलामा टिकटक बनाउने भन्दै गएका थिए । टिकटका लागि भिडियो बनाउने क्रममा रविना र सुस्मिता खोँचमा खसेका थिए । सोपछि सगैँ गएको अर्को विद्यार्थीले उनीहरु खसेको कुरा उनीहरुलाई जानकारी गराएकी थिइन् ।
खोंचमा खसेका कारण दुवै जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डीएसपी चिनिमाया तामाङका अनुसार फोटो भिडियो खिच्ने क्रममा उनीहरु लडेको देखिएको हो ।
उनले भनिन्, ‘खोलामा नुहाउने क्रममा दुई जना विद्यार्थी र शिक्षिका अलिक पर जानु भएको रहेछ, दुई जना लडेको खबरसँगै जानेले विद्यार्थीले ल्याउनु भएको थियो । सँगै जाने विद्यार्थी विछिप्त भएका कारण सबै कुरा खुलिसकेको छैन ।’
प्रतिक्रिया