जनकपुर बोल्ट्सको सानदार जीतसँगै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सक्किएको छ । एनपीएलको अन्त्यसँगै जनकपुर बोल्ट्सबाट खेलेका न्युजिल्याण्डका क्रिकेटर जिमी निशमले नेपालमा जस्तो क्रिकेटको क्रेज र आतिथ्यता आफूले संसारमा अन्त कतै नपाएको बताएका छन् ।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराएर जनकपुरले उपाधीसँग जीत निकालेपछि स्टार स्पोर्ट्सका कमेन्टेटरसँग कुराकानी गर्दै निशमले आफूले नेपालमा क्रिकेटका अचम्मका दर्शक भेटेको बताएका हुन् ।
उनले कमेन्टेटरसँग भने, ‘मैले संसारका धेरै देशमा गएर क्रिकेट खेलेँ तर नेपालमा जस्तो क्रिकेटप्रति लगाव र उच्च सङ्ख्यामा समर्थक कतै पनि भेटेको छैन ।’
खेल जितेपछि मैदान परिक्रमा गर्दा पाएको सम्मानको तारिफ गर्दै उनले थप भने, ‘खेल जितेपछि हामीले समर्थकलाई धन्यवाद दिन मैदान परिक्रमा गरेका थियौँ, त्यस समयमा देखिएको दृष्य र समर्थकले गरेको व्यवहार संसारका कुनै पनि ठाउँमा भन्दा राम्रो लाग्यो ।’
क्रिकेटका लागि त्रिवि क्रिकेट मैदान पनि उत्कृष्ट रहेको जिमीको भनाइ छ । अब ११ महिनापछि एनपीएल प्रतियोगिता फेरि हुने उनको विश्वास छ । उनले नेपालका होटलमा आफूले पाएको आतिथ्यता पनि विशेष रहेको उल्लेख गरेका छन् ।
निशमले जनकपुरको पहिलो खेल गुमाएका थिए । एनपीएलका नौ वटा खेलमा उनी जनकपुर बोल्ट्सबाट खेलेका छन् । उनले एनपीएलका लागि कुल २४५ रनको योगदान गरेका थिए । जसमध्ये चितवन राइनोजसँग ६५ रन बनाउँदै उनले आफ्नो उत्कृष्ठ प्रदर्शन दिएका थिए । उनले एनपीएलमा कुल ७ विकेट लिएका छन् ।
प्रतिक्रिया