भुकम्पले बाजुरामा आठ घर भत्किए


काठमाडौं– शनिबार बाजुराको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर गएको भुकम्पनको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ।

शनिबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । बाजुराका नौवटै स्थानीय तहमा सुरक्षाकर्मी खटिएर भुकम्पका कारण भएको क्षति विवरण संकलन गरेका छन् । उक्त तथ्यांकअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको पाइएको हो।

तथ्यांकअनुसार बूढीनन्दा नगरपालिका–२ मा स्थानीय कल्पना बुढाको दुई तले घर, वडा नं ४ मा स्थानीय जनक बोहरा, वडा नं ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पूर्ण क्षति भएको छ।

यस्तै, सोही नागरपालिका–३ मा स्थानीय धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मानसिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ। सोही ठाउँको कैलाश अतिथि गृहको भवनमा पनि क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकबहादुर बोहराले भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका–१ का स्थानीय दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा पनि क्षति भएको बताए।

भूकम्पको केन्द्रबिन्दु रहेको गोत्रीमा १२३ परिवार जोखिममा रहेको वडा कार्यालयले जनाएको छ।

प्रभावितहरूलाई चिसोबाट जोगाउन तत्काल राहत र उद्धारका कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् ।