बारामा कारमा मृत भेटिएका व्यक्ति सिमरा विमानस्थलका सुरक्षा गार्ड


बारा– बारामा कारभित्र मृत भेटिएका व्यक्ति सिमरा विमानस्थल कार्यालयका सुरक्षा गार्ड रहेको खुलेको छ । शनिबार बिहान बाराको जीतपुर सिमरा उपमहानगरपालिका ११ स्थित बागमती ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र एक पुरुष मृत भेटिएका थिए ।

उनी विमानस्थलको सुरक्षा गार्ड ४७ वर्षीय राजकुमार रुम्बा रहेको खुलेको हो ।

उनी मृत भेटिएको कार भने सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको प्रहरीले जनाएको छ। उनी गाडी मागेर बाहिर निस्केका थिए ।

मृतक रुम्बाको टाउकोमा केही वस्तुले प्रहार गरिएको चोट देखिकाले हत्या भएको अनुमान गरिएको छ। रुम्बाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थप कुरा खुल्ने र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।