पुरस्कारमा पाएको कार चलाउन दीपेन्द्र सिंह ऐरीले १५ लाख ५० हजार तिर्नुपर्ने


काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगितामा सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको भन्दै फ्रेन्चाइज टोली सुदुरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले
कार पुरस्कार पाए ।

प्रतियोगिताको फाइनल खेलमा जनकपुर बोन्ट्सले हार व्यहोरेका बाबजुत उनले खेलाडीतर्फ भने उत्कृष्टको पुरस्कार पाएका थिए । उनलाई क्यानले लिग सुरु गर्नुअघि नै घोषणा गरे अनुसारको ओमोडाको ई–५ कार पुरस्कार दिइयो ।

दिपेन्द्रले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन बनाएका छन् । बलिङतर्फ उनले ९ खेलमा ९ विकेट लिएका छन् ।

उनले पुरस्कारमा पाएको गाडीमा ९९ किलोवाट मोटर तथा ६१ किलोवाट आवरको व्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ । कम्पनीको अनुसार उक्त कारको मूल्य नेपाली बजारमा ६१ लाख ९९ हजार रूपैयाँ हो । तर एनपीएलमा ऐरीले जितेको उक्त कारको मोटो रकम सरकारलाई करस्वरुप बुझाउनुपर्ने भएको छ ।

आयकर ऐनको दफा ८८ ‘क’ अनुसार दीपेन्द्रले कार पुरस्कार पाएवापत आकस्मिक लाभ कर तिर्नु पर्ने भएको हो ।

ऐनको दफा ८८’क’ को उपदफा १ मा साहित्य, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्‍याए बापत प्राप्त हुने राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका पाँच लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्ने छैन भनिएको छ । यसअनुसार उनले विगतमा पाँच लाख सम्मको पुरस्कार नपाएको अवस्थामा १४ लाख २४ हजार रुपैयाँ कर तिर्नु पर्ने छ । यसअघि ५ लाख बराबरको पुरस्कार पाइसकेको भए कारको १५ लाख ५० हजार रुपैयाँ कर बुझाउनु पर्ने छ ।

आयकर ऐन अनुसार नेपाल सरकारले पुरस्कारमा लाग्ने करमा छुट भने दिन सक्छ । नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी दिपेन्द्रले पाएको पुरस्कारमा कर छुट दिने सक्ने व्यवस्था आयकर ऐनमा छ । यदि सरकारले करमा छुट नदिएमा कर तिरेपछि मात्र दीपेन्द्रले कार आफ्नो नाममा नामसारी गर्न पाउनेछन् ।

यस्तै एनपीएलमा जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशीले १७ विकेट लिँदै उत्कृष्ट बलरको उपाधि जीते । उनले १० लाख मूल्यको विद्युतीय मोटरसाइकल पुरस्कार पाएका छन् । उनले पनि मोटरसाइकल नामसारी गर्ने क्रममा कर तिर्नुपर्ने भएको छ ।

यस विषयमा क्यानले एनपीएलमा पुरस्कार पाएका खेलाडीको कर छुट गर्न माग गर्दै सरकारलाई चिठी लेख्न अनुरोध गर्ने जनाएको छ ।