काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित डेरामा सोमबार विहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या कूलप्रसादकै जेठा छोराले गरेको आशंका प्रहरीले गरेको छ ।
डेरामा सँगै बस्दै आएका कुलप्रसादका २५ वर्षीय छोरा मिलन बेपत्ता भएपछि उनी शंकाको घेरमा परेका हुन् । बाबु छोरालाई ‘डमबेल’ (शारीरिक सुगठनमा प्रयोग हुने) ले हानेर हत्या गरिएको पाइएको अनुसन्धानबाट पाइएको छ । दुईवटा कोठामा डेरा गरेर बस्ने उनीहरु छुट्टाछुट्टै कोठाभित्र चुक्कुल लगाइएको अवस्थामा मृत भेटिएका थिए ।
उनीहरुको हत्यामा प्रयोग भएको डमबेल मिलनकै हुनु, उनी राति नै भाग्नु र बाहिर चुकुल लगाइएकाले उनले हत्या गरेको प्रहरीले आशंका गरेको हो । तर अहिले नै अनुमान नै सत्य हो भनेर किटान गरिसक्ने अवस्थामा नपुगेको प्रहरीले जनाएको छ ।
बाबुछोराको हत्याभन्दा अघिल्लो राति भने तीनजना बाबुछोरा सँगै खानपिन गरेर सुतेका थिए । मिलनले नै मासुभात पकाएको र आफूहरुलाई समेत चाख्न दिएको उनीहरुको छिमेकीले प्रहरीलाई बताएका छन् । तर भोलीपल्ट भने दुईजना मृत भेटिएका हुन् ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, मिलन आफैंले किनेर ल्याएको र पकाएको मासु हाँसीखुशीका साथ खाएर, छिमेकीलाई समेत बाँडेको आधारमा हेर्दा परिवारभित्र वा बाहिर कुनै समस्या नभएको बुझिन्छ । लोकसेवा परीक्षाको तयारी गरिरहेका मिलनमा मदिरा र लागुऔषधको कुलत पनि पाइँदैन ।
खाना खाएपछि मिलन बुबासँगै र भाइ प्रवीण अर्को कोठामा सुतेका थिए । ११ बजेसम्म सामान्य रुपमानै उनीहरु बोलिरहेको सुनेको अर्को कोठमा बस्नेहरुले प्रहरीलाई बताएका छन् । ११ बजेपछि मिलनले नै प्रयोग गर्ने गरेको पाँच केजीको डमबेल र अचार पिस्ने सिलौटोले टाउकोमा हानेर कूलप्रसाद र प्रवीणको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ ।
विहान उनीहरु मृत फेला पर्नुअघि नै मिलन स्कुटी लिएर निस्किएका थिए । स्कुटीका आधारमा गरिएको अनुसन्धानबाट पनि उनको पत्तो लागेको छैन । मोबाइल रातिबाटै अफ छ । उनको उपत्यका र गाउँमा पनि जानसक्ने सम्भावित ठाउँमा खोजी गरिएको तर केही पत्ता नलागेको प्रहरीले जनाएको छ । आचार्य परिवार खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढीका बासिन्दा हुुन् । कुलप्रसाद खोटाङ जिल्ला हुलाकका निमित्त प्रमुख थिए । उनी अफिसमा विदा लिएर छोराहरु भेट्न काठमाडौं आएको बुझिएको छ ।
प्रतिक्रिया