काठमाडौं– नेपाल एयरलाइन्सका दुई वाइडबडी जहाज खरिदबिक्रीको बेला नेपाली कर्मचारीहरूलाई घुस दिएको पाइएपछि एएआर कर्प कम्पनीलाई अमेरिकाले ५५ मिलियन डलर (करिब ७ अर्ब ४२ करोड रुपैयाँ) जरिवाना गरेको छ ।
जहाज खरिद सम्झौताको ठेक्का लिन नेपाली कर्मचारीहरूलाई उक्त कम्पनीले २.५ मिलियन डलर अर्थात् करिब ३४ करोड घुस दिएको प्रमाणित भएको थियो । एएआर कर्पले नेपालका सरकारी अधिकारीहरूलाई घुस दिएको स्वीकारेको अमेरिकाले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
२०७३ सालमा नेपाल एयरलाइन्सले अमेरिकी कम्पनी एएआर कर्पबाट दुईवटा वाइडबडी जहाज किनेको थियो । उक्त जहाज खदिर प्रकृयामा घुस लिएको भन्दै विशेष अदालतले मंसिर २१ गते फैसला सुनाइसकेको छ ।
यस्तै अमेरिकाको उक्त कम्पनी एएआर कर्पोरेसन नेपाली मूलका बेलायती नागरिक दीपक शर्माको अमेरिकी कम्पनी हो । शर्मा जहाज खरिद प्रकरणमै नेपालको विशेष अदालतबाट दोषी भइसकेका छन् । शर्माबाहेक तत्कालीन पर्यटन सचिव शंकर अधिकारी, निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, निगम सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानासहित १० जनालाई दोषी ठहर गरिएको छ ।
उनीहरुलाई विशेष अदालतले दोषी ठहर गरी करिब डेढ अर्ब रुपैयाँ जरिवाना र कैद सजाय सुनाएको थियो ।
प्रतिक्रिया