काठमाडौं– बालबालिकालाई भविष्यको कर्णाधार भनिन्छ । र ती कर्णधारलाई भविष्यमा राज्य हाँक्न सक्ने बनाउन उनीहरुलाई राम्रो शिक्षा दिक्षा पनि दिनुपर्छ भन्ने गरिन्छ । त्यसैले सरकारले पनि शिक्षालाई आफ्नो प्राथमिकतामा राखेको बताउने गरेको छ । यता पछिल्लो आठ वर्षदेखि शिक्षा क्षेत्रका आधारभूत जिम्मेवारी पुरा गर्ने दायित्व स्थानीय तहले पाएको छ ।
अहिले गाउँपालिका वा नगरपालिकाले नै विद्यालयमा दिवा खाजा, भौतिक संरचनाको निर्माण, शिक्षकहरुको नियुक्ती र तलब दिने लगायतका काम गर्छ । तर आफ्नो घरआँगन नजिकै भएको सरकारसँग यति धेरै अधिकार हुँदापनि रौतहटको फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरमा रहेको दलित प्राथमिक विद्यालयको दुर्भाग्य भने अझै फेरिएको छैन ।
१७ वर्षअघि अर्थात् २०६४ सालमा यो विद्यालय स्थापना भएको थियो । बकैया नदीको ‘ड्याम’मा स्थानीय गणेश महराले दान गरेको १० धुर जग्गामा यो विद्यालय स्थापना भएको हो ।
तर विद्यालयमा न त कुनै गतिलो भवन छ नत डेस्क, बेन्च नै । रौतहटमा गर्मी महिनाको प्रचण्ड गर्मी होस् या जाडो महिनाको शीत । विद्यालयमा रहेका एक सय ७५ विद्यार्थीहरु भुईमा नै बसेर पढ्छन् । पढ्न विद्यालयमा जाँदा विद्यार्थीहरले बस्नका लागि चाहिने बोरा आफैँले लिएर जाने गरेको त्यहाँका शिक्षकहरु बताउँछन् । जो विद्यार्थी बोरा नलिइकन जान्छन् उनीहरु चिसो भुईँमा नै बस्नुपर्ने बाध्यता रहेको छ । स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि छैन । शौचालय जानुपर्यो भने विद्यार्थीहरु आफ्नो घरतिर दौडिनुपर्ने अवस्था आउँछ की त उखुबारीको झाडीतिर पस्नुपर्छ ।
नेपाल सरकारले कक्षा पाँचसम्मका बालबालिकालाई निःशुल्क दिवा खाजा खुवाउने व्यवस्था गरेको छ । तर, पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि विद्यार्थीहरुलाई खाजा खुवाउन छाडेको छ ।
हाल उक्त विद्यालयमा चार जना बाल विकास शिक्षिका, दुई संघीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । स्थापना भएको १७ वर्षमा पनि विद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक छैनन् । विद्यालयमा कार्यरत शिक्षकहरु पनि समयमा तलब नपाएको गुनासो गर्छन् ।
प्रतिक्रिया