दीपेन्द्रलाई कार पुरस्कार दिने कम्पनीले नै करवापतको १५ लाख ५० हजार तिरिदिने


काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा नेपाली सर्वोत्कृष्ट खेलाडी बन्दै दीपेन्द्र सिंह ऐरीले पाएको कारको कर पुरस्कार दिने कम्पनीले नै तिरिदिने भएको छ ।

एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी शारडा ग्रुपले कर आफैँ दिने निर्णय गरेको हो ।

क्यानले लिग सुरु गर्नुअघि नै उत्कृष्ट खेलाडीलाई शारदा ग्रुप्स्को ओमोडा ई–५ कार पुरस्कार दिने घोषणा गरेको थियो । दिपेन्द्रले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन तथा ९ विकेट लिएर उत्कृष्ट नेपाली खेलाडीको उपाधि पाएका थिए ।

कम्पनीको अनुसार उक्त कारको मूल्य नेपाली बजारमा ६१ लाख ९९ हजार रूपैयाँ हो । तर आयकर ऐनको दफा ८८ ‘क’ अनुसार दीपेन्द्रले कार पुरस्कार पाएवापत आकस्मिक लाभ कर तिर्नु पर्ने भएको थियो ।

ऐनको दफा ८८’क’ को उपदफा १ मा साहित्य, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्‍याए बापत प्राप्त हुने राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका पाँच लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्ने छैन भनिएको छ । यसअनुसार उनले विगतमा पाँच लाख सम्मको पुरस्कार नपाएको अवस्थामा १४ लाख २४ हजार रुपैयाँ कर तिर्नु पर्ने छ । यसअघि ५ लाख बराबरको पुरस्कार पाइसकेको भए कारको १५ लाख ५० हजार रुपैयाँ कर बुझाउनु पर्ने छ ।

आयकर ऐन अनुसार नेपाल सरकारले पुरस्कारमा लाग्ने करमा छुट भने दिन सक्छ । नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी दिपेन्द्रले पाएको पुरस्कारमा कर छुट दिने सक्ने व्यवस्था आयकर ऐनमा छ । तर सरकारले कर छुटतर्फ ध्यान दिएको थिएन ।

अब कार दिने कम्पनी शारडा ग्रुपले नै कर तिरिदिने बताएको हो । शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडाले अहिले खेलाडीलाई धेरै भार नपरोस् भनेर आफूहरूले नै कर दिने बताएका छन् ।

‘दीपेन्द्रलाई हामीले ६२ लाखको कार दियौँ । ६०–६२ लाखको कार नै दिइसकेपछि १५ लाख कर पनि हामी नै तिरिदिऔँ भनेर यो निर्णय गरेका हौँ,’ उनले भने ।