काठमाण्डाै – जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब, साथै मधेश प्रदेश र बाग्मती प्रदेशबीचको खेल बराबरीमा समाप्त भएको छ।
आर्मीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले दोस्रो दिनको समाप्तिमा ५ विकेट गुमाएर ८८ रन बनायो। दोस्रो पारीमा पुलिसका अमित श्रेष्ठले ३६ रन बनाए। आर्मीका आकाश चन्द र शाहब आलमले २/२ विकेट लिए।
दोस्रो पारीमा आर्मीका सोमपाल कामीले नटआउट ८२ रन बनाए। पुलिसका कुशल भुर्तेलले ४ विकेट लिए। आर्मीले पहिलो पारीमा १ सय २१ रन बनाएको थियो भने पुलिसले १ सय २५ रन बनाएको थियो।
त्यसैगरी, मधेश प्रदेश र बाग्मती प्रदेशबीचको खेल पनि बराबरीमा समाप्त भएको छ। मधेशले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको बाग्मतीले दोस्रो दिनको समाप्तिमा ६ विकेट गुमाएर ९७ रन बनायो। दोस्रो पारीमा बाग्मतीका ऋत गौतमले २५ रन बनाए। मधेशका हरिशङ्कर शाहले ३ विकेट लिए।
दोस्रो पारीमा मधेशका मयन यादवले शतक बनाए। बाग्मतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए। मधेशले पहिलो पारीमा १ सय २ रन बनाएको थियो भने बाग्मतीले १ सय ५० रन बनाएको थियो।
हिजोदेखि सुरु भएको यो प्रतियोगिता लिग चरणमा सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ। लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ।
प्रतिक्रिया