काठमाडौं महानगरले चिनियाँ दूतावासलाई ठमेलमा कार्यक्रम गर्न अनुमति किन दिएन ?


काठमाडौं – काठमाडौं महानगरपालिकाले चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिबल) को अवसरमा ठमेलमा आयोजना गर्न चाहेको कार्यक्रमको अनुमति अस्वीकार गरेको छ। चिनियाँ दूतावासका डपुटी चिफ अफ मिसन वाङ सिनले एक हप्ता अघि महानगरलाई पत्र लेखेर २०२५ को स्प्रिङ फेस्टिवल र तामाङ नयाँ वर्षको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलमा कार्यक्रम गर्न अनुमति मागेका थिए।

काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनको चुनौती र अस्तव्यस्तताको कारणले ठमेलको सट्टो चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्न सुझाव दिएको छ। यसका लागि महानगरले सह-आयोजक बन्ने प्रस्तावलाई धन्यवाद दिँदै स्थान परिवर्तन गर्न अनुरोध गरेको हो।

महानगरको निर्णयमा प्रमुख कारण भनेको बाहिरी चक्रपथ क्षेत्रको सडक विस्तारमा चिनियाँ कम्पनीको ढिलासुस्ती रहेको बताइएको छ। मेयर बालेन शाहको सचिवालय स्रोतले यस विषयमा जानकारी दिँदै भने, “कलंकीदेखि महाराजगञ्जसम्मको क्षेत्र अस्तव्यस्त रहेको र धुलोम्य बनेको कारण चिनियाँ दूतावासलाई स्थिति थाहा होस् भन्ने उद्देश्यले यस्तो जवाफ पठाइएको हो।”

अघिल्ला वर्षहरूमा यो कार्यक्रम काठमाडौं महानगरपालिकाको सह-आयोजनामा आयोजना हुँदै आएको थियो, तर यस पटक सडक अवस्थाका कारण महानगरले अनुमति नदिएको हो।